महिला टि ट्वान्टी विश्वकपः अष्ट्रेलिया फाइनलमा

  डेटूडे खबर डेस्क
  १७ आषाढ़ २०८३

                            

एजेन्सी । बेथ मुनीको अविजित अर्धशतक र स्पिनरहरूको उत्कृष्ट बलिङमा अष्ट्रेलिया वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै आठौँ पटक आईसिसी महिला टि ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ।

द ओभलमा मंगलबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजले दिएको १ सय २६ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले २ विकेट गुमाएर १३ ओभरमै पूरा गर्‍यो। अष्ट्रेलियाले ७ ओभर बाँकी छँदै जित निकाल्यो।

मुनीले ३६ बलमा ८ चौकाको मद्दतले अविजित ६१ रन बनाइन्। एश गार्डनरले २० बलमा अविजित ३५ रन जोड्दै मुनीसँग तेस्रो विकेटका लागि अविजित ६३ रनको साझेदारी गरिन्।

अष्ट्रेलियाका लागि एलिस पेरीले ७ बलमा दुई २ बनाएपछि तिघ्राको सामान्य समस्याका कारण रिटायर्ड हर्ट भएकी थिइन्। टोलीका अनुसार उनको चोट गम्भीर छैन।

त्यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।

 

कप्तान हेले म्याथ्युजले सर्वाधिक ३० रन बनाइन् । खेल सुरु हुनुअघि स्वास्थ्य समस्यामा परेकी डिएन्ड्रा डोटिन आठौँ नम्बरमा ब्याटिङ गर्न आएर १६ बलमा ४ चौकासहित अविजित २६ रन जोडिन्।

वेस्ट इन्डिजले सुरुआत राम्रो गरे पनि मध्यक्रम सम्हालिन सकेन। कप्तान म्याथ्युज आउट भएपछि टोलीले १७ बलभित्र १२ रन थप्दा ४ विकेट गुमाएर दबाबमा परेको थियो।

अष्ट्रेलियाको जितमा स्पिनरहरूले निर्णायक भूमिका खेले। एश गार्डनरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन्। जर्जिया वेयरहाम र सोफी मोलिनक्सले पनि समान २ विकेट लिए।

गार्डनरले लगातार दुई विकेट लिँदै स्टेफानी टेलर र जाहजारा क्लाक्सटनलाई शून्यमै आउट गरेपछि वेस्ट इन्डिजको इनिङ्स कमजोर बनेको थियो।

जवाफी ब्याटिङमा अष्ट्रेलियाले सुरुआती २ विकेट गुमाए पनि मुनी र गार्डनरले संयमित तथा आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए।

यस क्रममा मुनीले महिला टि ट्वान्टी विश्वकपमा आफ्नो आठौँ अर्धशतक पूरा गरिन्। उनले न्यूजिल्यान्डकी पूर्वकप्तान सुजी बेट्सको सर्वाधिक ८ अर्धशतकको कीर्तिमानसँग बराबरी पनि गरिन्।

अब अष्ट्रेलियाले सातौँ महिला टि ट्वान्टी विश्वकप उपाधिका लागि लर्ड्समा हुने फाइनल खेल्नेछ। आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच बिहीवार दोस्रो सेमिफाइनल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट