एमसीसीको टोलीलाई जसपाको जवाफ– प्रमुख दलहरुबीच सहमति गरेर आवश्यक निर्णय लिन्छौं

  डेटूडे खबर डेस्क
  २४ भदौ २०७८

                            

२४ भदौ २०७८, डे2डेखबर

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विषयमा प्रमुख दलहरुबीच सहमति गरेर आवश्यक निर्णय लिइने जवाफ दिएको छ । 

नेपालको ४ दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटका क्रममा जसपाका नेताहरुले अरु (प्रमुख) दलहरुसँग पनि छलफल गरी सहमतिका आधारमा आवश्यक निर्णय लिइने बताएका हुन्। बिहीबार अपराह्न भएको भेटमा जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेताहरु र एमसीसीकी उपाध्यक्ष सुमार सहितका पदाधिकारीहरु सहभागी थिए । 

एमसीसी उपाध्यक्ष सुमारसहितको टोलीसँग भएको भेटवार्ताबारे जानकारी दिँदै जसपाका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. भट्टराईले एमसीसीबारे तत्कालै निर्णय गर्न नसकिने भनेर जवाफ दिएको बताएका हुन्।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल,’ एमसीसीको टोलीका सदस्यसँगको फोट सार्वजनिक गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी ।’

नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीबीच नेपालमा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न करिब ६० अर्ब रुपैयाँको अनुदान सम्झौता २०७४ भदौमा भएको थियो ।

उक्त सम्झौता संसद्‌बाट अनुमोदन भएपछि मात्रै कार्यान्वयन गर्नुपर्ने व्यवस्था भएको भएपनि दलहरुबीच सहमति हुन नसक्दा सम्झौता अनुमोदनको लागि संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन।

यही सम्झौतालाई अगाडि बढाउने उद्देश्यले चार दिने भ्रमणका लागि बिहीबार बिहान उपाध्यक्ष सुमारसहित एमसीसीको टोली कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको थियो।

टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमसीसी सम्झौताबारे उनीहरुको 'धारणा' बुझेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट