सिताराम विवाहपञ्चमि महामहोत्सव जनकपुरधाम (फोटोफिचर)

डेटूडे खबर डेस्क
२३ मंसिर २०७८
जनकपुरधाम, २३ मंसिर । नेपाल भारत लगायत विश्वको प्रसिद्ध विवाह महोत्सवको रुपमा सीतारामको विवाहलाई लिइन्छ ।
हिजो सीताराम विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात बारह बिघा रङ्गभूमिमा पुर्याइएको थियो । सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई आज साँझ मिथिला संस्कृतिअनुसार विवाह गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।
सो अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन सहभागी भएका थिए । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिएको थियो ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङख्यामा श्रद्धालु भक्तजनको भीड लागेको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरेको थियो ।