एमबिबिएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल पवनदेव माझी
डेटूडे खबर डेस्क
२० पौष २०८२
माला राय, महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७, दनौली निवासी एक विपन्न दलित विद्यार्थीले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।
शिवनारायण माझी (शिबो) का २२ वर्षीय छोरा पवनदेव माझीले कडा मेहनत र लगनशीलताका साथ प्रवेश परीक्षा उत्तीर्ण गर्दै पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन्।
मधेश प्रदेशकै सबैभन्दा पिछडिएको समुदायमध्ये एक मानिने मुसहर समुदाय सामाजिक तथा आर्थिक अभावका कारण अझै पनि शिक्षा पहुँचबाट वञ्चित हुँदै आएको छ। यस्तो अवस्थामा पवनदेव माझीको सफलता मुसहर समुदायका लागि आशाको केन्द्र बनेको छ।
पिपरा गाउँपालिका–७, दनौलीका स्थानीय जयराम चौधरीका अनुसार पवनदेवको सफलताले सम्पूर्ण गाउँ नै खुसी भएको छ। “पवनदेवको सफलता केवल उनको मात्र होइन, यो पूरा गाउँकै सफलता हो,” उनले बताए।
पवनदेवले आफ्नो निरन्तर मेहनत र परिश्रमबाट गाउँबासीमा उत्साह र सकारात्मक तरंग ल्याएका छन्। मुसहर समुदायमा शिक्षा प्रतिको चेतना कम रहेको अवस्थामा पवनदेवको सफलताले अहिले धेरै अभिभावकहरू आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने सोचतर्फ प्रेरित भएका छन्। यो परिवर्तन माझी समुदायका लागि ठूलो उपलब्धि मानिएको छ।
आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै पवनदेवले भविष्यका चुनौतीप्रति चिन्ता पनि व्यक्त गरेका छन्। उनका अनुसार ५५ वर्षीय बुवा हाल विदेशमा मजदुरी गर्दै मासिक करिब २० हजार रुपैयाँ घर पठाउँनुहुन्छ, जसबाट घरखर्च चलाउनसमेत कठिन भइरहेको छ। यस्तो अवस्थामा एमबिबिएस अध्ययनका क्रममा लाग्ने ६ वर्षको होस्टेल शुल्क, पुस्तक, कापी, स्टेशनरी तथा अन्य अध्ययन सामग्रीका लागि करिब १५ लाख रुपैयाँ जुटाउनु चुनौतीपूर्ण भएको उनले बताए।
“आराम गर्ने उमेरमा बुवा विदेशमा दुःख गरेर मेरो पढाइका लागि मजदुरी गर्नुभएको छ,” पवनदेव भन्छन्, “तर त्यो आम्दानी मेरो पढाइका लागि पर्याप्त छैन। आमाबुवाको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ।”
पवनदेवले सरकार तथा मनकारी दाताहरूसँग सहयोगको अपिल गर्दै भनेका छन्, “यदि सरकार र सहयोगी हातहरूले आर्थिक सहयोग गरिदिए भने मेरो डाक्टर बन्ने सपना पूरा हुन सक्छ। आर्थिक तनाव नहुने हो भने म अध्ययनमा मात्र केन्द्रित भएर लक्ष्य हासिल गर्न सक्छु।”
उनको एउटै लक्ष्य छ—चिकित्सक बनेर आफ्नै समाजमा बसेर आफ्नो गाउँ, समाज र देशको सेवा गर्ने।
