नक्कली उद्धार कागजात तयार गरि ठगी, ६ जना पक्राउ
डेटूडे खबर डेस्क
११ माघ २०८२
काठमाण्डाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली उद्धार (फेक रेस्क्यू) कागजात तयार गरि ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ ।
काठमाण्डाैमा आज आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीले साढे दुई महिनाको सघन अनुसन्धानपछि ३ वटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक तथा प्रबन्धक सुभाष केसी रहेका छन् ।
अनुसन्धानबाट उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै– टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झुटो प्रचार गरि हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बील तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गर्ने धन्दा चलिरहेको पुष्टि भएको छ । गिरोहले एउटै उडानमा बहुविध बीमा दाबी गर्ने, चार्टर्ड उडानलाई रेस्क्युमा रूपान्तरण गर्ने, प्राइभेट अस्पतालसँग मिलेर फर्जी बील बनाउने तथा बिचाैलियाबाट कमिसन लिने गरेको तथ्य फेला परेको छ ।
सीआईबीको अनुसन्धानबाट माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १ हजार २ सय ४८ जनाको उद्धार गरेको रेकर्डमध्ये १ सय ७१ जनाको नक्कली उद्धार गरेको खुलेको छ । यसबाट कम्पनीले १ करोड ३ लाख १० हजार २ सय ७६ अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।
त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जनाको उद्धारमध्ये ७५ जनाको नक्कली उद्धार गरेर ८२ लाख डलर मागदाबी गरेको अनुसन्धानमा देखिएको छ । एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले ६ सय १ जनाको उद्धारमध्ये ७१ जनाको शङ्कास्पद उद्धार गरेर ११ लाख ५३ हजार डलर मागदाबी गरेको छ । यी नक्कली उद्धारबाट ठगीको रकम झन्डै २ अर्ब ९० करोड रुपैयाँ पुग्ने सीआईबीले जनाएकाे छ ।
विदेशी मिडियाले नेपालमा झन्डै ३५ प्रतिशत उद्धार नक्कली भएकाे उल्लेख गरेका थिए भने २०८२ साल असोजयता थप उजुरीहरू आएका छन् । यसअघि सन् २०१८ मा पनि यस्तै घोटालाको प्रतिवेदन आएको थियो तर पूर्ण कारबाही हुन सकेकाे थिएन ।
सीआईबीका प्रमुख केसीले भन्नुभयो, ‘पक्राउ परेकाहरूलाई राष्ट्रहित विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रमाण खोजी भइरहेको छ र प्रमाण फेला लागेपछि तत्काल पक्राउ गरि कारबाही अघि बढाइनेछ ।’
यस प्रकरणमा सीआईबीले छुट्टै कार्यदल गठन गरि अनुसन्धान गरेको थियाे भने पर्यटन मन्त्रालयले पनि छानबिन समिति बनाएको थियो । यस घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्न सक्ने भएकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।
