सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिका महत्वपूर्णः मुख्यमन्त्री राउत

  डेटूडे खबर डेस्क
  २५ पौष २०७८

                            
जनकपुरधाम, २५ पुष । मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारत बीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिकालाई महत्वपूर्ण बताउनुभएको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगंजले विश्व हिन्दी दिवसको अवसर पारेर आइतबार जनकपुरधाममा आयोजना गरेको नेपाल और भारतके सांस्कृतिक सम्बन्ध मे हिन्दी का योगदान विषयक गोष्ठीलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बोल्न र बुझ्नमा सहज भएकोले दुवै मुलुकका नागरिकका बीच सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण रहेको बताउनुभयो ।
 
उक्त कार्यक्रम डा. आशा सिन्हाको अध्यक्षतामा भएको गोष्ठीमा पूर्व पश्चिमलाई जोड्ने काम पनि हिन्दी भाषाले गरिरहेको उहाँले थप्नुभयो ।
नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले नछेक्ने तर्क गर्नुहुँदै उहाँले सदियौ पुरानो सम्बन्ध स्थापित गर्न पनि हिन्दी भाषाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
 
मुख्यमन्त्री राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नको लागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया चाँडै अघि बढाउने जानकारी दिनुभयो ।
भाषा र संस्कृतिको रक्षा गर्ने दायित्व प्रदेश सरकारको छ, उहाँले भन्नुभयोे–यसको लागि आवश्यक ऐन कानून र बजेट चाँडै व्यवस्थापन गर्छु ।
 
गोष्ठीमा कविता वाचन गर्नुभएको कविहरुको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले विद्वानहरुले वडो कलात्मक र सुन्दर तरिकाले समसमायिक विषयवस्तु थोरै शब्दमा पस्केकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो  ।
सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले हिन्दी भाषा नेपाल र भारत बीचको सम्बन्धलाई स्थापित गर्ने सेतुको काम गरेको बताउनुभयो ।
 
गोष्ठीमा महावाणिज्यदूत नितेश कुमारले प्रत्येक वर्ष १० जनवरीका दिन विश्व हिन्दी दिवस मनाउँदै आएको जानकारी दिदै सन् २००६ देखि नियमित रुपमा सो दिवस मनाउँदै आएको बताउनुभयो ।
जनकपुरधाम सहित वीरगंज र कलैयामा पनि विश्व हिन्दी दिवस मनाउने तयारी रहेको उहाँले बताउनुभयो ।
विश्वका ५० करोड भन्दा बढी नागरिक अहिले हिन्दी भाषाको प्रयोग गरेको जानकारी उहाँले दिनुभयो ।
सो अवसरमा जनकपुरधामका साहित्यकारहरुले हिन्दी भाषामा कविता वाचन समेत गरेका थिए । गोष्ठीमा कविता वाचन गर्नुभएका साहित्यकारहरुलाई मुख्यमन्त्री राउतले दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट