नेप्से परिसूचक १५.६९ अंकले वृद्धि
डेटूडे खबर डेस्क
२५ माघ २०७८
जनकपुरधाम । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५ अंकभन्दा बढीले वृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स ०.६७ अंक र सेन्सेटिभ इन्डेक्स ०.२३ अंकले बढेको छ ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
सोमबार १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अन्य उपसमूहको परिसूचक २.४१ प्रतिशत, र्निजीवन बीमा कम्पनीको ०.५८ प्रतिशत, विकास बैंकको ०.५२, व्यापारको ०.४८, वित्त ०.३६, जलविद्युत्को ०.२ प्रतिशतले बढेको छ ।यता, बैंकिङ उपसमूहको सबैभन्दा धेरै ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत र लघुवित्तको ०.०८ प्रतिशतले गिरावट आएको छ ।
आज करोबारमा सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंकको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको छ ।यस्तै, छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको सेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ । नेसनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि सेयर मूल्य बढेको छ । तर, यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको सेयर मूल्यमा गिरावट आएको छ ।
आज कारोबार रकमका आधारमा ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नेपाल इन्फास्टक्चर बैंक शीर्ष स्थानमा छ ।नेसनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।