प्रणय दिवस आज : प्रेम सम्बन्ध बलियो बनाउने दिन

  डेटूडे खबर डेस्क
  ०२ फाल्गुण २०७८

                            

जनकपुरधाम । आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात् प्रणय/प्रेम दिवस । प्रेमिल मनहरुका लागि आजको दिन निकै महत्त्वपूर्ण मानिन्छ । पश्चिमी संस्कृतिमा आधारित भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस युवापुस्ताहरु माझ लोकप्रिय छ ।

रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि बढ्दै गैरहेको छ । प्रेमी र प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन?” भन्न धेरै जना १४ फेब्रुअरी अर्थात आजको दिनलाई नै पर्खिइरहेका हुन्छन् । 

यो पर्वलाई नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहित जोडीहरुले पनि प्रेम सम्बन्ध अझै प्रगाढ बनाउने दिनका रुपमा मनाउन थालेको पाइन्छ । खासगरी नवविवाहित बर बधुले प्रणय दिवस विशेष रुपमा मनाउँछन ।

विभिन्न सामाजिक सञ्जाल लगायत अत्याधुनिक प्रविधिका कारण भ्यालेन्टाइन डे मनाउने क्रमले एक दशकयता नेपालमा पनि प्राथमिकता पाएको छ ।

नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गर्ने । टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डेको शुभकामना दिने क्रम नेपालमा पनि बढ्दो छ ।

प्रेम व्यक्त गर्न प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना–ठूला उपहार पसलहरुमा प्रेमीहरू भरिभराउ देखिन्छन् ।

भ्यालेन्टाइन डेको सुरुवात इ.सं. २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका एक पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।

झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट