नेपाल आयरल्याण्डसँग पराजित हुँदा सन्दीपको ५० औं विकेटको रेकर्ड
डेटूडे खबर डेस्क
०३ फाल्गुण २०७८
जनकपुरधाम । चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।
नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे ।
नेपालका लागि अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान एकएक विकेट लिए ।
यो खेलमा एक विकेट लिएका नेपाली कप्तान सन्दीप लामिछाने टी २० क्रिकेटमा ५० विकेट लिने नेपालका प्रथम खेलाडी बनेका छन् ।
सोमबारको खेलमा कप्तान लामिछानेले २८ रन बनाएर खेलिरहेका जर्ज डकरेलको विकेट लिएका हुन् । यो उनको टी २० क्रिकेटको ५० औं विकेट हो।
सन्दीपका नाममा नेपालमा विभिन्न रेकर्ड छन् । तर, उनी टी२० क्रिकेटमा छरितो ५० विकेट लिने विश्वका तेस्रो खेलाडी बनेका छन्। सन्दीपले २९ खेलबाट यो रेकर्ड बनाएका हुन् ।
नेपाली कप्तान लामिछानेले अफगानिस्तानका रासिद खान र दक्षिण अफ्रिकाका इमरान ताहिरलाई पछि पारेका हुन् ।
छरितो ५० विकेट लिने खेलाडीमा श्रीलङ्काका अजन्था मेन्डिस शीर्ष स्थानमा छन्।२८ खेलमा ५० विकेट लिएर दोस्रो स्थानमा आयरल्याण्डका मार्क अडिर छन्।