वीरगञ्जमा अस्पतालजन्य फोहोर छुट्टै संकलन थालियो

डेटूडे खबर समाचारदाता
०६ फाल्गुण २०७८
६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न थालेको छ । महानगरपालिकाले शुक्रबारदेखि स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न थालेको हो ।
वीरगञ्जमा ६ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन आउन भने बाँकी छ । अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न आवश्यक बन्दोबस्त मिलाउने क्रममा समय लागेको महानगरपालिकाले जनाएको छ । नगर प्रमुख विजय सरावगीले आवश्यक जनशक्ति व्यवस्थापन, प्रशिक्षण गराउने लगायतको काम भइरहेको भन्दै छिट्टै केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।
अस्पतालजन्य फोहोर संकलनका लागि महानगरपालिकाले ल्याब टेक्निसियन सहित ६ जना कर्मचारी खटाएको छ । उनीहरुले पहिलो दिन नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थाबाट दुई ट्याक्टर फोहोेर संकलन गरेका छन् । बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म स्वास्थ्य संस्था जन्य फोहोर संकलन गरिएको थियो ।
तर ती फोहोर अटो क्लेभ मेसिनमा हाल्ने खालको जस्ता थिएनन् । विर्ता क्षेत्र लगायत स्वास्थ्य संस्थाबाट संकलन गरिएको फोहोरमा कुहिने, नकुहिने, केमिकलयुक्त, संक्रामक फोहोर एकै ठाउँमा राखिएको छ ।
वीरगञ्जमा रहेका अस्पताल, क्लिनिक, पोलिक्लिनकहरुले फोहोरलाई नि–संक्रमण नगरी घरबाट निस्कने फोहोर सरह महानगरपालिकाको गाडीमा हालिदिने, जलाएर नष्ट गर्ने र जथाभावी फाल्ने गर्दै आएका छन् ।