साहस ऊर्जाको आईपीओ बुधवारदेखि विक्रीमा
डेटूडे खबर डेस्क
०५ असोज २०७८
५ असोज २०७८, डेटूडे खबर ।
जनकपुरधाम । साहस ऊर्जा लिमिटेडले बुधवारदेखि सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १००रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले बताएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुने ३ करोड ५० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो ।सोअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।