नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड ३१ लाख नाघ्याे

डेटूडे खबर डेस्क
१२ असोज २०७८
१२ असोज २०७८, डेटूडे खबर ।
जनकपुरधाम । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार तीन जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार तीन सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६३ हजार सात सय ३४ पुगेको छ ।
यही अवधिमा थप १२ जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय १५ जना पुगेको छ ।