श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा एक जनाको ज्यान गयो, २४ जना घाइते
डेटूडे खबर डेस्क
०७ वैशाख २०७९
श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा प्रहरी पनि रहेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले रामबुकाना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका छन् । अर्को सूचना नभएसम्मका लागि रामबुकाना वरपर कर्फ्यू आदेश जारी भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा केही दिनदेखि सरकार विरोधी प्रदर्शन भैरहेको छ ।
यस्तै, आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि अपिल गरेको छ । आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अली सवारीको टोली छलफलका लागि अमेरिका पुगेको छ । वित्तमन्त्री अली सवारीले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको समेत बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।
