कुलमानकाे गुनासाे– ‘सडक विभाग, खानेपानी विभागका कारण तार \'अन्डरग्राउन्ड\' गर्न समस्या भयाे’

  डेटूडे खबर डेस्क
  १२ असोज २०७८

                            

१२ असोज २०७८, डेटूडे खबर ।

जनकपुरधाम । नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण बिजुलीका तार (केबल) अन्डरग्राउन्ड गर्ने कामले गति लिन नसकेको स्पष्ट पारेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तार अन्डरग्राउन्ड गर्ने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले ती समस्या समाधान गरेर देशमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

आज मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । उहाँले झन्डै ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सहयाेग गरेकाे बताउनुभयाे । 

कार्यकारी निर्देशक घिसिङले भन्नु भयो, ‘तार बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरूले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढ्नेछौँ । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले झन्डै ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फ्रास्ट्रकचर हो । कुनै पनि फाइबर तान्नुपर्‍याे भने त्यही पोल प्रयाेग हुन्छ र फाइबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तर्गत आइरहेका छाैँ, त्यो नेपाल विद्युत् प्राधिकरणको इन्फ्रास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले उपभाेक्ताबाट वार्षिक झन्डै ७० अर्ब आयआर्जन गरिरहेकाे जानकारी पनि दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट