२४ घण्टामा ३ लाख जनाले काेराेनाविरुद्धकाे खाेप लगाए, १ हजार ७८ सङ्क्रमित

डेटूडे खबर डेस्क
१४ असोज २०७८
जनकपुरधाम । नेपालमा पछिल्लाे २४ घण्टामा झन्डै तीन लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ८९ हजार तीन सय ८१ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हिजो बुधवार पनि दुई लाख ८६ हजार जनाले काेराेनाविरुद्धकाे खोप लगाएका थिए । नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको २८ दशमलव नौ प्रतिशत अर्थात् ६२ लाख ८५ हजार सात सय ४० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ७४ लाख ५६ हजार तीन सय ८४ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार सात सय ६५ जनाको नमुना परीक्षण गर्दा एक हजार ७८ अर्थात् नौ दशमलव १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९५ हजार ६१ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९१ हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप नौ सय ११ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार सात सय ५८ पुगेको छ ।
२४ घण्टामा १२ जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
अहिले नेपालमा १८ हजार एक सय ६८ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ५३ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।