भगवान् मान्नेहरुलाई देख्दा चित्त फाट्छ र बैराग्य लाग्छ..
डेटूडे खबर डेस्क
२० जेठ २०७९
भगवान् मान्नेहरुलाई देख्दा चित्त फाट्छ र बैराग्य लाग्छ..
आमा-बा र गुरु साक्क्षात् भगवान हुन्,
संरक्षनकर्तालाई भगवान मानेको हुँ,
संसारका महान व्यक्तिहरुलाई भगवान मानेको हुँ
न्यायमुर्तिलाई भगवान मानेको हुँ,
पिडा हर्ने डाक्टर र बैधलाई भगवान मानेको हुँ,
खाद्यान्न उत्पादनकर्ता किसानलाई भगवान मानेको हुँ,
प्रत्येक जिवात्माहरू भगवानका अंश हुन्
मानव आत्मालाई दानबियकरण भइरहेको देख्छु,
ढुंगा माटाका मुर्ति र प्रतिकलाई भगवान मानेर पुज्छु,
दर्शनार्थिहरु तिर्थयात्रामा जीवन गुमाउँदा मुक्ति पाएको बुझ्छु,
तर, राजनेतालाई समेत भगवान् मान्दा,
वहाँहरुको नेचर(स्वभाव), गुण, प्रवृती र व्यवहारमा विचलन भएको देख्छु,
आचरण, विचार, धर्म र वाणीमा स्खलन भएको देख्छु।
भगवान् मान्नेहरुलाई देख्दा चित्त फाट्छ र बैराग्य लाग्छ ।
ड्राईभर, पाईलट क्याप्टेन र नाविकलाई पनि भगवान सरह मान्छु,
भौतिक जीवन र दर्शनलाई सहज बनाउन...
बैज्ञानिक अन्वेषण तथा चमत्कार गर्नेहरूलाई पनि भगवान मान्छु,
सच्चा मित्रहरू, आफन्त र कुटुम्बहरू....
प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरू सबैलाई भगवान मान्छु,
तर यी भगवानहरू, देवत्वकरणको खोलभित्र रही
दानवीय सोच, स्वभाव र आचरण प्रदर्शन गरेको यदाकदा देख्छु
भगवान् मान्नेहरुलाई देख्दा चित्त फाट्छ र बैराग्य लाग्छ ।
संघसंस्थाका हाकिमहरु, बिज्ञ, विदुषी र विद्वानहरु,
साहित्यकार र सर्जकहरु सबैलाई भगवान मान्छु,
तर, राष्ट्र, राष्ट्रियता, देशभक्ति र राष्ट्र निर्माणमा
समाजिक एकता सहितको संरचना र कार्यमा सु-संस्कारको सुगन्धलाई
तिलान्जली दिदै भौतिकवादी चरम व्यक्तिगत स्वार्थमा लीन भएको देख्छु,
भ्रष्टव्यक्ति र समाजले सु-संस्कारलाई बंजड मरुभूमि बनाउँछ
मानवीय कुनै संवेदना पाईदैन त्यहाँ, जसरी मरुभूमिमा जीवन
भगवान् मान्नेहरुलाई देख्दा चित्त फाट्छ र बैराग्य लाग्छ ।
भगवान् मान्नेहरुलाई देख्दा चित्त फाट्छ र बैराग्य लाग्छ ।