प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम पीएम कप महिला क्रिकेट च्याम्पियन

  डेटूडे खबर डेस्क
  ०७ माघ २०७९

                            

काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश इटहरीमा सम्पन्न प्रधानमन्त्री कम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । 

इटहरीको जनता पार्कमा शनिबार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । यससँगै सुदूरपश्चिमले ८ टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो । 

पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश १ ले तीन लाख रुपैयाँ पुरस्कार पायो । प्रदेश १ ले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी रहँदा चार विकेट गुमाएर भेटाउन सफल भएको हो ।

जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्ट २२, कविता जोशी अविजित १९ र  कविता कुँवर १२ रन जोड्न सफल भएका थिए । 

बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगीता राई र हिरनमायी रोयले समान एक÷एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय १ रन बनाएको थियो । प्रदेश १ का लागि काजल श्रेष्ठ अर्धशतकीय पारी खेल्न दुई रनले चुकिन् । ६३ बलमा ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन् । 

यसैगरी अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट