यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

  डेटूडे खबर डेस्क
  ०९ माघ २०७९

                            

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना युएईमा हुने आइसिसी विश्वकप यू–१९ छनोट खेल्ने अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।

क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक यू–१९ नेपाली टोलीमा परेका छन् । अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन । सिनियर टोलीबाट खेलि सकेका देव खनाल, गुलशन झासँगै युवा ब्याटर अर्जुन कुमाल, स्पिनर दीपेश कँडेल, विशाल विक्रम केसी र दुर्गेश गुप्ताले यसअघि नेपाली यू-१९ टोलीबाट खेलेका खेलाडी हुन् ।

अन्य सबै खेलाडी नेपाली यू१९ टोलीमा पहिलो पटक परेका हुन् । क्यानले २८ जनाबाट १८ जना हुँदै १४ जनाको नाम सार्वजनिक गरेको हो । यू१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले कप्तान छनोटकर्ताहरुले निर्धारण गर्ने बताए । प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले एक महिना बाँकी हुँदा केहि दिनमा कप्तानको टुङ्गो लाग्ने बताए ।

घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट लगातार उच्च प्रदर्शन गर्दै आएका सुवास भण्डारी र दीपक डुम्रे पहिलो पटक टोलीमा परेका छन् । यू–१९ राष्ट्रिय च्याम्पियन बनेका सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामी, मिलन बोहरा र दुई दीपक बोहरा पहिलो पटक यू१९ टोलीमा परेका छन् ।

लुम्बिनी प्रदेशका युवा ओपनर आकाश त्रिपाठी र बागमती प्रदेशका विकेटकिपर उत्तम थापामगर पनि पहिलो पटक यू१९ टोलीमा परेका छन् । बन्द प्रशिक्षणमा राम्रो प्रदर्शन गरेका लुम्बिनी प्रदेशका प्रज्वल थापा भने टोलीमा अट्न सकेनन् । तीव्र गतिका बलर आकाश चन्द र स्पिनर तिलकराज भण्डारी चोटका कारण बन्द प्रशिक्षण मै थिएनन् ।

प्रतियोगिता फेब्रुअरी अन्तिममा युएईमा हुनेछ । प्रतियोगितामा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछन् । नेपाल र युएई प्रमुख दाबेदार मानिन्छन् ।

नेपाली यू–१९ टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

वैकल्पिक खेलाडी : प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव ।

अन्तिम १८ बाट बाहिरिएका ११ खेलाडी :

अनुराग सिंह, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, नरेन साउद, सक्रिय कार्की, विपिन महतो, मयन यादव, आकाश चन्द, युनिससिंह ठकुरी र तिलकराज भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट