युक्रेनले निर्माण गर्‍यो ७०० किलोमिटर टाढासम्म पुगेर मार हान्न सक्ने हतियार

  डेटूडे खबर डेस्क
  १५ भदौ २०८०

                            

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले लामो दूरीमा मार हान्न सक्ने हतियार निर्माण गरेको बताएका छन् । बिहीबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्न सक्ने उल्लेख गरे ।

हालैमात्र रुसको पेस्कोभ शहरको एक विमानस्थलमा आक्रमण हुँदा चारवटा रुसी सैन्य कार्गो विमान नष्ट भएका थिए । रुसले त्यसबेला युक्रेनले विमानस्थलमा ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो । पेस्कोभ शहर युक्रेनको सीमा क्षेत्रबाट ७०० किलोमिटर टाढा नै पर्छ । यतिबेला जेलेनस्कीले आफ्नो नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्ने बताएपछि युक्रेनले नै त्यहाँ आक्रमण गरेको आशंका गरिएको छ ।

जेलेन्स्कीले बिहीबार राति युक्रेनले कस्तो नयाँ हतियार भनेर खुलाएको छैनन् । उनी भन्छन्, ‘हाम्रो नयाँ युक्रेनी हतियारको दायरा ७०० किलोमिटरसम्मको छ । अबको हाम्रो काम अझ परसम्म पुगेर आक्रमण गर्ने हतियार बनाउनु हो ।’

युक्रेनले पश्चिमा राष्ट्रहरूबाट हतियार पाएता पनि लामो दूरीमा आक्रमण गर्न सक्ने हतियार पाएको छैन । युक्रेन आफैँले टाढासम्म पुगेर आक्रमण गर्न सक्ने हतियार बनाएको दाबी गरेपछि यसले पक्कै पनि रुसविरुद्धको युद्धमा युक्रेनलाई फाइदा पुग्नेछ ।

त्यसो त अमेरिका डेनमार्क र नेदरल्यान्ड्सले युक्रेनलाई एफ-१६ लडाकु विमान दिने घोषणा गरिसकेको छ । यतिबेला युक्रेनी सेनाले एफ-१६ विमान उडाउन प्रशिक्षण लिइरहेका छन् । यो विमान सन् २०२४ को सुरुवातसँगै युद्धमा प्रयोग हुनेछन् ।

शक्तिशाली हतियारहरूले रुसलाई पाठ सिकाउन आफूहरू सफल हुने जेलेन्स्कीको दृढ विश्वास छ । यसअघि जेलेन्स्कीले रुसविरुद्ध निर्णायक जवाफी कारबाही थालेको पनि बताएको थियो । पश्चिमा राष्ट्रको हतियारले चाँडै नै रुसी सेनालाई युक्रेनबाट हटाउने उनको विश्वास थियो ।

तर, रुसी सेनाले कडा प्रतिकार गरेपछि युक्रेनी सेनाको जवाफी कारवाही कमजोर सावित भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट