लाबुसेनको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलिया विजयी

  डेटूडे खबर डेस्क
  २२ भदौ २०८०

                            

एजेन्सी । लाबुसेनको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको छ । योसँगै पाँच ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४०.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका मार्नस लाबुसेनले आठौं नम्बरमा ब्याटिङ गर्दै विजयी इनिङ खेले । एक समय ११३–७ को दयनीय अवस्थामा पुगेको अष्ट्रेलियालाई जिताउन लाबुसेनले ९३ बलमा ८ चौकासहित ८० रनमा अविजित रहे ।

उनले नवौं विकेटका लागि एश्टन अगरसँग १ सय ४५ बलमा १ सय १२ रनको अविजित शतकीय इनिङ खेल्दै जित पक्का गराए । अगर ६९ बलमा ३ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे ।

लाबुसेन सुरुमा टोलीको प्लेइङ ११ मै थिएनन् । तीव्र गतिका बलर कागिसो रबाडाको बाउन्सर बलले क्यामरन ग्रीनलाई छैटौं ओभरको तेस्रो बलमा हेलमेटमा लागेको थियो । त्यसपछि उनी रिटायर्ट हर्ट भएका थिए ।

ग्रीनलाई कन्कसन (होस हराउने) भएपछि लाबुसेनले खेल्ने मौका पाएका थिए । नियम अनुसार कुनैपनि ब्याटरको टाउकोमा लागेको खण्डमा र खेलाडीमा होस हराएको खण्डमा लाइक फर लाइक रिप्लेस गर्न पाइन्छ । त्यसै अनुसार लाबुसेनले उनको स्थानमा ब्याटिङ गर्ने मौका पाए । विश्वकप टोलीमा नपरेका उनले पहिलो अवसर सानदार रुपमा सदुपयोग गरेका छन् ।

ओपनर ट्रविस हेड २८ बलमा ६ चौका र १ छक्कासहित ३३, डेविड वार्नर डक, जोश इंग्लिस १, एलेक्स केरी ३, मार्कस स्टोइनिस र कप्तान मिचेल मार्श १७-१७ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जी र कागिसो रबाडाले समान दुई विकेट लिए । मार्को यानसन, लुंगी एनगिडी र केशव महाराज एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १ सय ४२ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । बभुमाको यो ओडिआई करिअरको पाँचौं शतक थियो ।

ओपनर क्विन्टन डि कक ११, रास्सी भान डर डुसेन ८, एडेन माक्ररम १९, हेनरिक क्लासेन १४, डेविड मिलर डक र मार्को यानसन ३२ रनमा आउट भए । यानसनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

अष्ट्रेलियाको जितमा जोश हेजलवुडले १० ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले ६ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शन एबोट, एश्टन अगर, एडम जाम्पा र क्यामरन ग्रीनले एक एक विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट