पाकिस्तानमाथि भारतको सानदार जित

  डेटूडे खबर डेस्क
  २६ भदौ २०८०

                            

एजेन्सी । भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।

पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३-२३ रन बनाए । ओपनर फखार जमान २७, इमाम उल हक ९, बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए ।

भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहको पाँचौं ओभरको दोस्रो बलमा ओपनर उमाम उल हक एज लागर स्पिलमा शुभमन गिलबाट क्याच आउट हुन पुगे ।

११ औं ओभरको चौथो बलमा हार्दिक पान्ड्याले बाबर आजमलाई बोल्ड आउट गरेपछि पाकिस्तान समस्यामा परेको थियो ।

रिजवानलाई शार्दुल ठाकुरले आउट गरेपछि पाकिस्तानको जितको सम्भावना कठिन बनेको थियो । त्यसपछि कुलदीप यादवले पाकिस्तानको इनिङ ध्वस्त पारेका थिए । नसिम शाह र हरिस रौफ भने ब्याटिङमै आएनन् । यी दुबै खेलाडी बलिङको क्रममा घाइते भएका थिए ।

भारतका स्पिनर कुलदीप यादवले ८ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले एक एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो ।

भारतको जितमा विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । कोहली नै खेलको प्लेयर अफ द म्याच चुनिए । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।

तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए। भारतलाई ओपनर रोहित शर्मा र शुभमन १६.४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए । कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।

गिल शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए । त्यसपछि भने पाकिस्तानी बलरले विकेट लिन सकेनन् । सोमबार भने हरिस रौफ फिट नहुँदा बलिङ गरेनन् । पाकिस्तानलाई जसको कारण ठूलो घाटा लागेको थियो ।

पाकिस्तानका शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए ।

आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो । भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले बिहीबार श्रीलंकासँग खेल्नेछ ।

सुपर फोरमा भारतको यो पहिलो खेल थियो । यस जितले फाइनल सम्भावना मजबुत बनेको छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तान फाइनलमा पुग्न श्रीलंकालाई हराउनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट