सिके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
डेटूडे खबर डेस्क
०५ कार्तिक २०७८
जनकपुरधाम । नेपाल इन्जिनियर्स एसाेसिएसन, बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एसाेसिएसन, बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सिडिई राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको दुर्व्यवहारको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरूको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देश र कानुनको धज्जी उडाएको बताए। उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरे। उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगे युगमा फर्किएको भान हुन थालेको बताए ।
प्रदर्शनमा नेपाल इन्जिनियर एसाेसिएसन बागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको दुर्व्यवहार हिंस्रक भएको बताए। यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नाइकेलाई कारबाही गर्नुपर्ने माग गरे। कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरूलाई सहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए । उनले सिके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार बासका लठ्ठी लिएर आक्रमणकारी शैलिमा जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयकामा गई प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लगाएको कपडा च्यातेर, गोबर हिलो शरीरमा दलेर, दुरव्यवहार गर्दै, लछारपछार गर्दै नगर परिक्रम गराएको थिए । उनीहरूले जनकपुर– ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्यवहार गरेका थिए ।
