तराई-मधेश तथा जनकपुरधामका क्षेत्रमा लोक नृत्य झिझियाको रौनक

  न्यूज डेस्क
  २० असोज २०८१

                            

जनकपुरधाम।  तराई-मधेश तथा जनकपुरधामका क्षेत्रमा लोक नृत्य झिझियाको रौनक अहिले जारी छ।

मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गरिन्छ।

पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट महत्त्व छ। घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रूपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परम्परा रहेको छ। बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ।

यसको बनावट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमुना हो। टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा  निहित विशेष अर्थलाई सङ्केत गर्दछ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ। त्यो विशेष सुर र तालमा तथा झिझिया को गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत  वातावरणको निर्माण हुन्छ। झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रूपमा समेत प्रचार गर्दै आई रहेका छन्।

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ।

त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ। झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट सुरु भएको मानिन्छ।

वैदिक परम्पराको रूपमा रहेको घट नृत्य नै कालान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरूप धारण गरेको संस्कृतिविदहरुको भनाई छ।

छैटौँ शताब्दीदेखि ११ औँ शताब्दीसम्मको बिचमा तन्त्र शक्ति हाबी भएको बेलादेखि झिझिया को प्रारम्भ भएको जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट