दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६७ पुग्यो

  डेटूडे खबर डेस्क
  १४ पौष २०८१

                            

एजेन्सी। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६७ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १६७ जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  ।

थाइल्यान्डको बैंककबाट उडान भरेको बोइङ ७३७–८०० जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । उनीहरूमध्ये थाइल्यान्डका दुई र अरू दक्षिण कोरियाका नागरिक रहेको बीबीसीले जनाएको छ । नेसनल फायर एजेन्सीका अनुसार, विमानमा ५७ महिला, ५४ पुरुष र १३ अन्य थिए । 

दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन । तर, चरासँग ठोक्किँदा र खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने विश्वास गरिएको छ । अहिले उद्धारका लागि १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुर्घटनामा परेकामध्ये उडान दलका दुई सदस्यको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ । उनीहरूमध्ये एक पुरुष र एक महिला हुन् । उनीहरू विमानको पुच्छर भागमा भेटिएको नेसनल फायर एजेन्सीले जनाएको छ ।

आजको विमान दुर्घटनालाई दक्षिणको कोरियाको उडान इतिहासमा अहिलेसम्मकै खराब भनिएको छ । यसअघिसम्म सन् २००२ मा भएको एयर चाइनाको विमान दुर्घटनालाई दक्षिण कोरियामा इतिहासकै खराब दुर्घटना भनिन्थ्यो । त्यस दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट