छोरीकाे शिक्षाबाट बालविवाह रोकिन्छ : मुख्यमन्त्री सिंह

  डेटूडे खबर डेस्क
  ३० माघ २०८१

                            

जनकपुरधाम । मधेश प्रदशका मुख्यमन्त्री सतीशकुमार सिंहले छोरीकाे शिक्षाबाट बालविवाह रोकिने बताएका छन्।

 छोरीको विवाह गरेर जिम्मेवारी  हटिने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको सिंहको भनाइ छ। गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे। 

आज जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवं

बालबालिकालाई मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै बालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यसकारण बालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह समेत गरे। 

उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पूरा नगर्दै छोरीको बिहे गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्न बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने मुख्यमन्त्री सिंहले सुझाए। पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन उनले सुझाव दिए।

उनले सामुदायिक विद्यालयमा बालिकाको संख्यात्मक उपस्थिति उल्लेख्य रहेको र उच्चशिक्षा पाएका बालिकाले चिकित्सा, इन्जिनियरिङ क्षेत्रमा अब्बल प्रदर्शन गरिरहेको बताए।

बाबुआमाको हेरचाहमा छोराभन्दा छोरीले बढी गरिरहेको विषय स्थापित भइसकेको भन्दै शिक्षाका माध्यमबाट छोरीलाई विभिन्न सरकारी लगायतका अवसरमा सहभागिता एवं प्रतिनिधित्व सुनिश्चित गराउन बालिका शिक्षामा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताए।

उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दातृनिकाय, गैरसरकारी संस्था लगायत सरोकारवालाहरू थप सक्रिय हुनुपर्ने आवश्यकता रहेकाे समेत बताए।

त्यस्तै सिंहले मधेश प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको  बताए।   

मुख्यमन्त्री सिंहले बालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका छन्। प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह मुक्त गर्ने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट