जनकपुरधाममा युवा सांसद अभ्यास सुरु

डेटूडे खबर डेस्क
१७ आषाढ़ २०८२
जनकपुरधाम । जनकपुरधाममा ४ दिने युवा संसदीय अभ्यास सुरु भएको छ । मधेश प्रदेश सभा सचिवालयको आयोजनामा ४ दिने युवा संसदीय अभ्यास कार्यक्रम आइतबारदेखि सुरु भएको हो।जनकपुरधाममा अवस्थित विश्वविद्यालय क्याम्पसहरुबाट सहभागी विद्यार्थीहरुलाई चार दिवसीय संसदीय अभ्यास कार्यक्रममा युवाहरूलाई संसदीय प्रक्रिया, कानून निर्माण, ऐन, नियम, नीति निर्माण र युवाहरुको नेतृत्व क्षमतामा दक्षता ल्याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।
यस कार्यक्रमले सहभागी युवाहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रका विषयमा व्यवहारिक ज्ञान दिनुका साथै युवालाई संसदको कार्यप्रणालीको अनुभव गराउँदै नीतिगत विषयमा बहस र निर्णय प्रक्रिया सिकाइनेछ ।
सहभागीहरूलाई सांसदको भूमिका दिइनेछ, जस अन्तर्गत सहभागिहरुले विधेयक प्रस्तुत गर्ने, संसदीय छलफलमा भाग लिने र नीति निर्माणमा सुझाव दिने अभ्यास गरिनेछ।
कार्यक्रममा धनुषा जिल्लाबाट चयन गरिएका करिब ६० जना युवाहरूको सहभागिता रहेको छ । यस अभ्यास कार्यक्रमको आयोजना मधेश प्रदेश सभा सचिवालयले नै गरी उद्द्धाटन सत्रको अध्यक्षता मधेश प्रदेश सभा सचिवालयका सचिवालय सचिव होमनाथ पहाडीले गरेका थिए । कार्यक्रममा मधेश प्रदेश सभा सचिवालयका कर्मचारी, प्रशिक्षक लगायत विज्ञहरूको उपस्थिति रहेकाे छन्।