राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज
डेटूडे खबर डेस्क
१४ कार्तिक २०७८
जनकपुरधाम । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ ।
केन्द्रीय बैंकले अस्ति शुक्रवार एकीकृत निर्देशन जारी गरी केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । तर केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले अर्को सूचना निकालेर अस्ति जारी भएको निर्देशन खारेज भएको जानकारी दिनुभयो । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको गाडी पैठारीमा लगाइएको बन्देज हटेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो । केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाइ चालु आर्थिक वर्षका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो । यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाइ चालु आर्थिक वर्षका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भनेको थियो ।
छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाइ चालु आर्थिक वर्षका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो । त्यही अनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको थियो। त्यस्तै बीउबिजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउबिजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ ।