बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ
डेटूडे खबर डेस्क
२४ मंसिर २०८२
बुटवल । पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् । बहुविवाहको आरोपमा पक्राउ परेका उनीमाथि रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उनकी जेठी श्रीमती तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए । ‘मंगलबार तीन दिनका लागि म्याद थप भएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’
प्रहरी स्रोतका अनुसार डिएसपी नेपालले प्रहरीमै कार्यरत एक युवतीसँग दोस्रो विवाह गरेका हुन् । तर स्रोतका अनुसार उक्त प्रहरी युवती भने अहिले फरार छिन् । डिएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए । बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए । प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।
