कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
डेटूडे खबर डेस्क
२८ मंसिर २०८२
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख रहेका बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनी विघटित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापतिसमेत थिए।
उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो कायम गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
चालिसे २०७४ सालदेखि २०७९ सालसम्म पाँच वर्ष मेयर पदमा रहँदा उनी र उनका सगोलमा रहेका परिवारका सदस्यहरूको समेत वैधानिक आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ।
तर सोही अवधिमा ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको भन्दै स्रोत नखुलेको रकम जफत हुनुपर्ने माग आरोप पत्रमा गरिएको छ।
