प्रतिनिधिसभा चुनावमा अनुमति नलिइ,गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव
डेटूडे खबर डेस्क
०६ पौष २०८२
काठमाडाैँ ।
आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
आयोगले अनुमति पाएको गाडीबाहेक अन्य गाडी प्रयोग गरी चुनाव प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति नलिई प्रयोग गरेमा त्यस्ता गाडीलाई नियन्त्रणमा लिई कारबाही गरिने उल्लेख छ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिई त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित चुनाव क्षेत्र वा उम्मेदवार भएको ठाउँमा आयोगले तोकेबमोजिम दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने गाडी मध्ये धेरैमा दुईवटा प्रयोग गर्न सकिनेछ । गाडी नचल्ने ठाँउमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ ।
विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने र गाडीको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि रोक लगाइएको छ । आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको गाडी प्रयोग गरी अशक्तबाहेकका मतदाता ओसारपसार गर्न पाउने छैनन् ।
