समानुपातिकतर्फको बन्दसूची भोलि साेमबार सम्म
डेटूडे खबर डेस्क
१३ पौष २०८२
काठमाडाैँ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आज (पुस १३) र भोलि (पुस १४) कार्यालय समयभित्र पेस गर्ने भएका छन्। निर्वाचन आयोगको स्वीकृत निर्वाचन कार्यक्रमअनुसार समानुपातिकतर्फ भाग लिन दर्ता भएका दलहरूले मात्र बन्दसूची पेस गर्न पाउनेछन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलहरूले न्यूनतम ११ र अधिकतम ११० जनासम्मको उम्मेदवार नामावली बन्दसूचीमा समावेश गर्नुपर्ने छ। बन्दसूची पेस गर्दा समावेशी समूहको निर्धारित प्रतिशत अनिवार्य रूपमा मिलाउनुपर्ने व्यवस्था गरिएको छ।
११ जनाको बन्दसूची पेस गर्ने दलले आदिवासी जनजाति र खस आर्य समूहबाट तीन–तीन जना, थारू, मुस्लिम र दलित समूहबाट एक–एक जना तथा मधेशी समूहबाट दुई जनाको नाम समावेश गर्नुपर्ने छ। यसमध्ये आठ जना महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ।
त्यसैगरी ११० जनाको बन्दसूची पेस गर्ने दलले आदिवासी जनजाति ३२, खस आर्य ३३, थारू ७, दलित १३ र मधेशी समुदायबाट १६ जनाको नाम समावेश गर्नुपर्ने छ। महिला उम्मेदवारको संख्या ५२ जना हुनुपर्नेछ भने चार जना पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ। जनगणना २०७८ को तथ्यांकका आधारमा समावेशी प्रतिनिधित्वको संख्या निर्धारण गरिएको आयोगले जनाएको छ।
बन्दसूची पेस गर्दा केन्द्रीय समितिको निर्णय, मतदाता नामावलीमा नाम रहेको निस्सा, उम्मेदवारको स्वघोषणासहितको मञ्जुरीनामा, नागरिकताको प्रतिलिपि, बन्दसूचीको सफ्ट तथा हार्डकपी र तोकिएका पदाधिकारीबाट प्रमाणित कागजात अनिवार्य हुने सहायक निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो। समानुपातिकतर्फ कुल ९३ वटा निर्वाचन चिह्नका लागि १०० वटा दल दर्ता भएका छन्।
पेस भएका बन्दसूचीमाथि आयोगले छानबिन गरी आवश्यक परे सच्याउन दललाई पुस १५ देखि २० गतेसम्म समय दिनेछ। पुस २१ देखि २७ गतेसम्म बन्दसूची संशोधन गर्न सकिनेछ भने पुस २८ गते उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन्। आयोगले माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गर्ने छ। मतदान भने फागुन २१ गते हुने तय भएको छ।
अन्तिम मतदाता नामावली सार्वजनिक
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदान गर्न योग्य छन्। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। अघिल्लो निर्वाचनको तुलनामा नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन्।
निर्वाचन आचारसंहिता स्वीकृत
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। आयोगका अनुसार मतदान हुनुभन्दा करिब ४५ देखि ५० दिनअघि आचारसंहिता लागू गरिने छ। आचारसंहिताले जुलुस, आमसभा, प्रचार सामग्री, अनलाइन तथा अन्य माध्यममार्फत हुने प्रचारप्रसारमा कडाइ गरेको छ।
मतदान स्थल र केन्द्र थप
आयोगका अनुसार यस निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा ७५ मतदान स्थल र ८८५ मतदान केन्द्र थपिएका छन्। हाल देशभर कुल १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र कायम गरिएको छ।
