रौतहटमा बुलेटबाट ग्यास लिक भएपछि पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
डेटूडे खबर डेस्क
१५ पौष २०८२
रौतहट : रौतहटमा बुलेटबाट ग्यास लिक भएपछि आज बिहान ७:३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन।
महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडकखण्डको लमाह पुलनजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो।
अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन्। बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिइन्।
उक्त ग्यास बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएका छन्। दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उनले बताइन्। दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्।
