हत्या गरिएका वनपालेको टाउको फेला
डेटूडे खबर डेस्क
२० पौष २०८२
बरहथवा । सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ । ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रूपमा कार्यरत महतोको शव शनिबार (पुस १९) घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आइतबार (पुस २०) दिउँसो उनको टाउको शव भेटिएको स्थानबाट १०० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डीएसपी सरोज राईले जानकारी दिए ।
महतोको हत्या अनुसन्धानमा दुई कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विशेष टोली खटिएको थियो । उनको हत्यामा संलग्न आशंकामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिएको छैन ।
शनिबार बिहान वनमा रुख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लागेका थिए । उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।
महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
