ठाकुरले गरे राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता
डेटूडे खबर डेस्क
२३ पौष २०८२
जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।
बुधबार (आज) जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट नेता ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्।राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल गर्नेगरी सहमति भएको छ।
राष्ट्रिय सभाको १८ सिट मध्ये कांग्रेसले ९, एमालेले ८ र जसपालाई १ सिट दिने अनौपचारिक सहमति भइसकेको नेताहरूले बताएका छन्।
जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनले महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो। दुवै दलबीच एकता भएपछि जसपा नेपालले महन्थलाई राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनाएको हो। जसपा नेपालसँग एकता हुनुअघि उनी लोसपाका अध्यक्ष थिए।
