समानुपातिकतर्फका ३ जना उमेदवारविरुद्ध उजुरी
डेटूडे खबर डेस्क
१० माघ २०८२
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फ सूचीकृत तीन जना उम्मेदवारको विषयमा निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ। आयोगका अनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि योग्यता र कानुनी अवस्थासम्बन्धी प्रश्न उठाउँदै उजुरी परेका हुन्।
नेकपा (एमाले) को समानुपातिक नामावलीमा समावेश सिरहा निवासी चन्देश्वर मण्डलविरुद्ध उजुरी परेको छ। उजुरीमा उनलाई आदिवासी जनजाति पृष्ठभूमिको व्यक्ति भएको उल्लेख गर्दै मधेशी समूहअन्तर्गत समावेश गर्न नमिल्ने दाबी गरिएको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामा सम्बन्धमा पनि आयोगमा उजुरी दर्ता भएको छ। उनी अपांगता भएका व्यक्तिको कोटाअन्तर्गत सूचीकृत भए पनि वास्तवमा सो वर्गमा नपर्ने भन्ने दाबी उजुरीमा गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार बनेका कुमारबहादुर थापाविरुद्ध पनि आयोगमा निवेदन परेको छ। उजुरीमा उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा खरिद-बिक्री गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरिएको छ।
निर्वाचन आयोगले प्राप्त सबै उजुरीहरूलाई एकीकृत रूपमा अध्ययन गरिरहेको जनाएको छ। आयोगका अनुसार राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाइसकेका थिए। नाम फिर्तालगायतका प्रक्रिया सम्पन्न भएपछि अन्तिम सूची सार्वजनिक गरिएको थियो।
आयोगको निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली यही माघ २० गते प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।
