सर्लाही–४ बाट उम्मेदवारी दिएँ : सभापति गगन थापा

  डेटूडे खबर डेस्क
  १० माघ २०८२

                            

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौँमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यस पटक सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । 

काठमाडौँ–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ ।  सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उल्लेख गरे ।

कांग्रेसलाई मधेसले नै अहिलेको अवस्थामा ल्याएकाले मधेससँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेसको नेतृत्व गर्ने प्रयास गरे मात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे ।आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेसका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे ।

त्यस्तै, सभापति थापाले युवाहरूको भावनालाई आत्मसाथ गर्न पार्टीमा परिवर्तनको प्रयास गरेको र सफल भएको बताए । अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमी कमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट