बंगलादेश विश्वकपबाट बाहिरिए

  डेटूडे खबर डेस्क
  १० माघ २०८२

                            
एजेन्सी ।
आईसीसी ट्वान्टी–२० विश्वकपबाट बंगलादेश बाहिरिएको छ । बंगलादेशको स्थानमा आईसीसीले स्कटल्यान्डलाई समावेश गरेको छ । दुबईमा भएको बैठकका क्रममा आईसीसीका अध्यक्ष जय शाहले यो निर्णय लिएका हुन् । आईसीसीले आफ्नो सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएको छ ।

बिहीबार आईसीसीले दिएको २४ घण्टाको समयसीमाका बाबजुद बंगलादेश सरकारले भारतमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि आईसीसीले यो कदम चालेको हो ।भारतमा खेल सञ्चालन गर्ने आईसीसीको निर्णयविरुद्ध बंगलादेश क्रिकेट बोर्डले ‘डिस्प्युट रिजोलुसन कमिटी’मा उजुरी दिएको थियो । तर, उजुरी खारेज गरियो ।

यो विवाद बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएलबाट बाहिर राखिएपछि सुरु भएको हो । त्यसपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न असुरक्षित रहेको भन्दै टोली पठाउन मानेन ।

बंगलादेशमा हिन्दुको हत्या भइरहेको विरोधमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले मुस्ताफिजुरलाई आईपीएलबाट बाहिर राख्न लगाएको थियो । बीसीबीले यसको कडा विरोध गर्‍यो । अर्को कारण, मुस्ताफिजुरलाई बाहिर निकालिएको विषयलाई बंगलादेशका राजनीतिक दलले ठूलो मुद्दा बनाए । त्यसपछि बंगलादेशी सरकारले आफ्नो देशमा आईपीएल प्रसारणमा प्रतिबन्ध लगायो । र, बीसीबीले भारतमा विश्वकप नखेल्ने अडान लियो ।

बंगलादेशले पाकिस्तान क्रिकेट बोर्डले पनि आफ्नो समर्थनमा विश्वकप बहिष्कार गर्ने आशा राखेको थियो । पीसीबीले आईसीसीको बैठकमा बंगलादेशको समर्थन त गर्‍यो, तर प्रतियोगिताबाट हट्न चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट