चुनावका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
डेटूडे खबर डेस्क
२३ माघ २०८२
काठमाण्डाैँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर चुनाव प्रचारप्रसारका लागि सहयोग सङ्कलन गर्न बाधा नपर्ने बताएका छन् । प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उम्मेदवारले चुनाव प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै उहाँले त्यस खातामा सङ्कलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।
उहाँले भन्नुभयो, ‘चुनावकाे प्रचारप्रसारका लागि उम्मेदवार तथा दलले मलाई यति सहयोग दिनुपर्छ भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौँ भने मेरो खाता नम्बर यो भनेर चुनाव प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ ।’
निर्वाचन आयोगले चुनावका लागि मतपत्र छाप्ने कामलाई तीव्रता दिएको छ । प्रवक्ता भट्टराईले अहिलेसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको जानकारी दिनुभयो । छपाइ भएका मतपत्रमध्ये ७ हजार १ सय ३७ वटा बाकस प्याकिङ भइसकेको आयोगले जनाएको छ ।
प्रवक्ता भट्टराईकाअनुसार अहिलेसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ । आयोगले बाँकी जिल्लाहरूको मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।
