सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतरा
डेटूडे खबर डेस्क
२६ माघ २०८२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन्।
सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गरेका हुन्। दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गरे।
उनले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताए। यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उनको टिप्पणी छ। उनले गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी समेत गरे।
अध्यक्ष दाहालले ‘जेनजी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याए। सोही आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकतावद्ध गर्दै २६ वटा साना–ठूला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको बताए।
