बहुसूचक सर्वेक्षण २०८१/८२ : सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च
डेटूडे खबर डेस्क
२६ माघ २०८२
काठमाण्डाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुले एक वर्ष नपुग्दै ज्यान गुमाउने गरेका छन् ।
प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रहेको छ । सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बाल मुत्यु हुने गरेको छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा १० जना रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा धेरै ३८ र बाग्मतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत सुदूरपश्चिममा ४८ छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।
नेपालको कुल प्रजनन दर प्रतिमहिला १.९ मा झरेको छ । तर १५ देखि १९ वर्षका किशोरीमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाइएको छ । यो तथ्याङ्कले किशोरीमै गर्भधारण चुनौतीका रूपमा रहेको देखिन्छ । सर्वेक्षण प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी अर्थात् (लिखुरेपन) को समस्यामा छन् । मधेश प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा धेरै ३३.२ रहेको छ भने सबैभन्दा कम बाग्मतीमा ९.६ प्रतिशत रहेको छ ।
यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन् । आधारभूत विद्यालय कक्षा (१ देखि ५) को कक्षा १ मा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेको छ । ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवामा पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा धेरै ९९.५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८०.८ प्रतिशत रहेको छ । टेलिफोन सेवातर्फ ९५.५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् । १५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन् ।
