आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने
डेटूडे खबर डेस्क
१८ फाल्गुण २०८२
काठमाडौं । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ ।
दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।
‘सोमबार बेलुकीसम्म सबै ठाउँका मतदान केन्द्रहरुमा कर्मचारी र सुरक्षाकर्मीहरुको टोली पुग्नुपर्छ भनेर हामीले यसअघि नै निर्देशन दिइसकेका छौं’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘निर्वाचन सामग्री पुगेर मतदान केन्द्रमा पुग्ने उनीहरुले सोमबार नै केही कामहरु समेत गर्नुपर्ने हुन्छ ।’
प्रवक्ता भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ । उनीहरुले कुन/कुन ठाउँको परिधिभित्रको क्षेत्र मतदान केन्द्र हो भनेर सबैले स्पष्टसँग देख्नेगरी सूचना निकाल्छन् । देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझ्छन् । र, निर्वाचन नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरुको टोली साथमा नै रहन्छन् ।
निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार, आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको रिपोर्ट आएको थियो । आयोगले सुदूरपश्चिम र कर्णालीमा सडकको सुविधा नपुगेका केन्द्रहरुलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरेको थियो । आइतबार अपराह्नसम्म सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका करिव ३ सय मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेका थिए ।
तुलनात्मक रुपमा सडकको सुविधा पुगेको ठाउँमा भने आइतबार अपराह्नसम्म कर्मचारी पुगेका थिए । शहरी क्षेत्र र तराईका केन्द्रहरुमा ढिलोमा पनि सोमबार अपराह्नसम्म कर्मचारीहरु मतदान केन्द्रमा पुगिसक्नेछन् ।
मतदान अधिकृतको जिम्मामा रहने मतपत्र लगायतका निर्वाचन सामग्रीहरुलाई नेपाल प्रहरीले सुरक्षा दिएको हुन्छ । निर्वाचन आयोग र प्रहरी हेडक्वाटरले सुरक्षाकर्मीहरुलाई मतदान अधिकृत लगायतका कर्मचारी र सिलबन्दी गरिएका मतपत्र लगायतका सामग्रीलाई नछाड्नु र २४ सै घण्टा निगरानी गर्नु भनेर निर्देशन दिएको छ ।
