विवाहमा गएका २ बालिकाको शव फेला, १ बेपत्ता
डेटूडे खबर डेस्क
२६ फाल्गुण २०८२
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार (आज ) दुई बालिकाको शव फेला परेको छ ।
उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा फेला परेको रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार, १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको अन्तरमा फेला परेको हो । उनीहरू सोमबार (फागुन २५) छिमेकीको विवाहमा गएका थिए । घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए । रासस
