नेपाल एयरलाइन्सको ‘स्पेशल फ्लाइट’, यात्रु उद्धारका लागि दुबई जाँदै
डेटूडे खबर डेस्क
२७ फाल्गुण २०८२
काठमाडौँ । नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले एक उडान सूचना प्रकाशन गर्दै बुधबार राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो ।
दुबईबाट उडेको आरए २३० (दुबई-काठमाडौँ) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौँ फर्किने तालिकामा उल्लेख गरिएको छ ।अमेरिका-इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताएका छन् । उनका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्यताका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ ।
उनले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिएका छन् ।खासगरी दुबईमा उद्धारको पर्खाइमा बस्नुभएका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरेका छन् । उनका अनुसार आरए २२९ (काठमाडौँ-दुबई) आज राति ११:१५ बजे र आरए २३० (दुबई-काठमाडौँ) बिहीबार बिहान ४:१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ । गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुनः प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ ।
