पोखरा विमानस्थल अनियमिता प्रकरण : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  डेटूडे खबर डेस्क
  ०८ चैत्र २०८२

                            

काठमाण्डाैँ ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ वटा कम्पनीविरुद्ध आज मुद्दा दायर गरेको हो ।

आयोगले पूर्वसचिव अधिकारीसहित १२ जना र २ वटा कम्पनीलाई ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो कायम गरेको छ । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमसहित ६ जनासँग ८ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्राधिकरणका तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको निधन भएकाले उनको हकवाला श्रीमती यमुनादेवी श्रेष्ठसँग ६ करोड ७३ लाख रुपैयाँ बिगो माग भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

पोखरा विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्यसम्झौताका शर्त र प्रावधानअनुरूप २८ लाख अमेरिकी डलरमा परामर्शदाता नियुक्त नगरिएको अख्तियारको आरोपत्रमा उल्लेख छ । अस्वभाविक रूपमा लागत अनुमान बढाएर ५० करोड ३४ लाख  ४० हजार ६९६ रुपैयाँ पुर्‍याइ प्राधिकरण सम्पत्तिबाट अतिरिक्त र दोहोरो बजेट खर्च गरिएको पनि अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

ईपीसी ठेक्का सम्झौताअनुसार २८ लाख अमेरिकी डलरमै परामर्शदता नियुक्त गर्नुपर्ने र त्यो कामका लागि प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने थाहा हुँदाहुँदै पनि परामर्शदाता ईआरएमसी/ए–नट/स्लेट जेभीलाई ४० करोड ६८ लाख २६ हजार ५ सय ६८ रुपैयाँ भुक्तानी गरी प्राधिकरणको थप सम्पत्ति हिनामिना र हानि/नोक्सानी पुर्‍याइएको अख्तियारको दाबी छ ।

अख्तियारले बिगोबमोजिम जरिवाना र थप सजायको मागदाबी गरेको छ । पोखरा विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकिरहेका बेला निर्माण प्रक्रियामा भएको यो ठूलो भ्रष्टाचारबारे मुद्दा चलेको हो ।

पोखरा विमानस्थलकै अघिल्लो मुद्दामा प्रदीप अधिकारी, बाबुराम पौडेल र विनेश मनोकर्मी प्रतिवादी थिए । उनीहरूविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट