शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह
डेटूडे खबर डेस्क
१२ चैत्र २०८२
काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्ति र शपथको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा तारिख बुझेका छन् । बिहीबार (चैत १२) सर्वोच्च प्रशासनको फाँटमा पुगेर उनले मुद्दाको म्याद बुझेका हुन् । सिंहदरबारमा सांसदको लिएपछि सोही पोसाकमै सर्वोच्च पुगेर उनले पेसी बुझेका हुन् ।
उनले आउँदो जेठ १४ गतेको म्याद बुझेको सर्वोच्च प्रशासनका अधिकारीले जानकारी दिए । झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य रहेका बालेनले शुक्रबार (चैत १३) वैदिक कर्मकाण्ड विधिअनुसार प्रधानमन्त्री पदको शपथ लिँदै छन् ।
बालेन आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा तारिख बुझ्न पुगेका हुन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यति बेला मेयर रहेका बालेनले कडा अभिव्यक्ति दिएका थिए ।
