काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
डेटूडे खबर डेस्क
१७ चैत्र २०८२
काठमाडौँ। काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी ९सीडीओ० छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए। उनमाथि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग नजिक रहेका रिजाललाई आन्दोलन दमन गरेपछि सीडीओ पदबाट एक महिनाभित्रै हटाइएको थियो।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसमेत कारबाही सिफारिस गरेको थियो। आयोगको सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
रिजाल सीडीओ हुनु अघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पनि थिए। त्यस बेला उनले कर्मचारीहरूको पदस्थापन र कार्यालय व्यवस्थापनमा पेशागत आचरण विपरीत काम गरेको आरोप रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको विवरण अनुसार रिजालमाथि भ्रष्टाचारको अनुसन्धान भइरहेको छ। अनुसन्धानमा तत्कालीन गृह सचिव, निजी सचिवहरू, अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरूको अस्वाभाविक गतिविधि र डायरी लगायतका विवरण समावेश छन्।
