अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ
डेटूडे खबर डेस्क
२० चैत्र २०८२
काठमाडौं । पश्चिम एसियाली राष्ट्रमा युद्धको समयमा अफवाह फैलाउने सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा हालसम्म ११ नेपालीलाई पक्राउ गरिएको छ । शुक्रबार (चैत २०) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले यसबारे जानकारी गराएको हो ।
“सम्बन्धित देशले जारी गरेका सुरक्षा गाइडलाइन्सको पालना गर्नुपर्छ । अधिकांश नेपालीले पालना गरिरहेका छन्, केहीले उल्लंघन गरेका छन्,” परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “उल्लंघन गरेको कारण हालसम्म ११ जना पक्राउ परेका छन् ।” डरत्रास फैलाउने कार्य नगर्न उनले आग्रह समेत गरे ।
