सिरहामा कारको ठक्करबाट एक साइकल यात्री घाइते
डेटूडे खबर डेस्क
२१ चैत्र २०८२
सिरहा । सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख सालिकराम तिमिल्सिनाले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल स्थानीय आर.के. मेडिसिटीमा उपचारका लागि लगिएको थियो , तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।
प्रहरीका अनुसार सदायको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । कार चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का करिब २६ वर्षीय आकाश चौधरी रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
