राहुल द्रविड भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्त
डेटूडे खबर डेस्क
१८ कार्तिक २०७८
जनकपुरधाम । भारतिय टिमका पूर्वकप्तान राहुल द्रविड भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । अहिले युएईमा भइरहेको आईसीसी टी-२० विश्वकप सकिएपछि द्रविडले रवि शास्त्रीको स्थान लिनेछन् । टी-२० विश्वकपपछि शास्त्रीको पदावधि सकिनेछ ।
द्रविडले यसअघि भारतको ए टिम र यू-१९ टिमको प्रशिक्षक भएर काम समेत गरिसकेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अक्टोबरमा मुख्य प्रशिक्षकलगायत विभिन्न पदका लागि आवेदन खुल्ला गरेको थियो ।
सुलक्षणा नैक र आरपी सिंह सम्मिलित क्रिकेट एडभाइजरी कमिटीले बुधबार सर्वसम्मत रुपमा द्रविडलाई मुख्य प्रशिक्षक नियुक्त गरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।
अब द्रविडको पहिलो काम न्युजिल्याण्डविरुद्धको घरेलु सिरिजबाट सुरु हुनेछ ।
द्रविडले भारतीय क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षक हुन पाउनु सम्मानको विषय भएको बताएका छन् । साथै उनले शास्त्रीको प्रशिक्षणमा भारतले राम्रो प्रदर्शन गरेको टिमलाई अझै राम्रो बनाउनका लागि काम गर्ने आशा व्यक्त गरेका छन् ।
यस्तै बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले पनि द्रविडले नेशनल क्रिकेट एकेडेमीमा रहेर नयाँ क्षमतावान खेलाडी उत्पादन गर्न योगदान गरेको स्मरण गर्दै द्रविडको प्रशिक्षणमा भारतीय क्रिकेटले नयाँ उचाइ हासिल गर्ने बताएका छन् ।