ए डिभिजन विशेष : ठूला क्लबलाई माथ दिने तयारीमा ब्रिगेड ब्वाइज क्लब
डेटूडे खबर डेस्क
२९ कार्तिक २०७८
काठमाडौँ, २९ कार्तिक । शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरका ६ मध्येको एक क्लब हो ब्रिगेड ब्वाइज क्लब (बीबीसी) । लाहुरेहरूले सञ्चालन गरेको बीबीसीको शीर्ष डिभिजन लिगमा त्यति राम्रो इतिहास छैन । क्लब इतिहासमा ठूलो उपलब्धि हात पार्न सकेको छैन । पछिल्ला ६ संस्करणका लिग खेलेको बीबीसीले हालसम्म कुनै पनि लिगको उपाधि जितेको छैन ।
पछिल्ला संस्करणमा रेलिगेसनबाट जोगिनुनै उसका लागि उपलब्धि हो । २०४४ मा स्थापना भएको बीबीसीले ६ पटक लिग खेल्दा एक पटक रेलिगेसन (घटुवा) हुनु पर्याे । ०६८ मा रेलिगेसनमा परेको बीबीसी ०७५ मा पुनः ए डिभिजन लिग खेल्न बढुवा भएको थियो ।
देशकै शीर्ष डिभिजनको लिगमा बीबीसीले रेलिगेसनमा बच्नु बाहेक शीर्ष ६ मै आफ्नो स्तर उभ्याएको छ । उमेर समूहबाट आफ्नो प्रतिभा निखार्दै गरेका खेलाडीलाई जम्मा गरेर बीबीसीले आफ्नो लक्ष्य पूरा गर्दै आएको छ । एन्फा एकेडेमीका खेलाडीलाई जम्मा गरेर क्लबले दुई पटक यू-१८ ललित स्मृति प्रतियोगिताको उपाधि जितेको छ ।
एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तीनमध्ये पछिल्ला दुई संस्करण बीबीसीले जित्यो । सोही प्रतियोगिता खेलेका खेलाडीले पछिल्लो दुई सिजनका लिगमा बीबीसीलाई रेलिगेसन जोनबाट बचाए । ०७५ मा भने बिना रेलिगेसनकाे लिग आयोजना भयो ।
अनिल गुरुङको कप्तानीमा खेलेको बिना रेलिगेसनको लिगमा बीबीसीले १२औं स्थान हासिल गरेको थियो । सिंगल राउन्ड रोबिनको लिगमा १३ खेल खेल्दा बीबीसीले २ जित, ४ बराबर र ७ खेलमा हार ब्यहोर्दै १० अंक जोडेको थियो ।
एक मात्र ‘सरस्वती युथ क्लब’ रेलिगेसनमा परेको लिगमा पनि मछिन्द्रले १३औं स्थान पायो । एक स्थानले गर्दा घटुवा हुनबाट बचेको बीबीसीले १३ खेलमा २ जित, ३ बराबर र ८ खेल हार्दै ९ अंक हासिल गर्याे ।
३ मंसिरबाट सुरु हुने तय भएको लिगमा बीबीसीले विभागीय एपीएफ फुटबल क्लबसँग दशरथ रंगशालामा खेल्दै लिगको सुरुआत गर्नेछ । दोस्रो खेलमा भने न्युरोड टिम एनआरटीको सामना गर्नेछ ।
बीबीसीले ०६१ मा पहिलो पटक लिग खेल्दा नवौं स्थानमा रहँदै आफूलाई रेलिगेसन जोनबाट बचाएको थियो । त्यो नै क्लबले हालसम्म लिग निकालेको सबैभन्दा राम्रो नतिजा हो ।
यस पटक भने क्लबले केही सुधार गर्दै शीर्ष ६ मा आफूलाई राख्न चाहन्छ । त्यसका लागि पुनः बीबीसी युवा खेलाडीको भरमा छ ।
‘वास्तवमै लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको छैन । यस पटक भने हामी शीर्ष ६ मा लिग टुंगाउने गरी तयारी गरिरहेका छौं,’ क्लबका व्यवस्थापक अर्विन्द गुरुङ भन्छन् ।
यस पटक राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बीबीसी युवा खेलाडीको भरको ठूला टोलीलाई मात दिने सोचमा छ । यस पटक लिगमा दुई टिम रेलिगेसनमा पर्नेछन् । त्यसैले रेलिगेसनबाट बच्न पनि बीबीसीले ठूला टिमविरुद्ध अविश्वसनीय नतिजा निकाल्ने दाउमा छ । लिग जित्न ठूलो लगानी गरेका मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लबलाई बीबीसीको प्रदर्शनले टाउको दुखाउने छ ।
बीबीसीको प्रशिक्षकमा हुनेछन् सनोज श्रेष्ठ । सनोज नेपालको यू-१६ टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । अब, टोलीलाई कुन दिशा दिने र कुन स्थानसम्म पुर्याउने त्यो भने सनोजको रणनीतिले तय गर्नेछ ।
यस पटक बीबीसीले गत सिजन खेलेका गोलरक्षक विशाल सुनार, जया गुरुङ, रितिक खड्का जस्ता खेलाडी गुमाएको छ । तीनै खेलाडीले क्लब छाडेर अन्यत्र बाटो रोजेका छन् । बिबिसीले मनाङ लागेका विशालको स्थानमा थ्रीस्टारका पूर्वखेलाडी पूर्ण चेम्जोङलाई क्लबमा भित्र्याएको छ ।
यस्तै गत सिजन विभागीय नेपाल पुलिस क्लबबाट खेलेका युवा डिफेन्डर विशाल बस्नेतलाई भित्र्याएको छ । विशाल चोटका कारण सुरुवाती खेलमा भने बेन्चमा रहनेछन् । अन्य केही खेलाडीले नवीकरण गरेका छन् भने केही खेलाडी सातदोबाटोलाई बी डिभिजनमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका बीबीसी आएका छन् ।
‘युवा खेलाडीले राम्रो गरिरहेका छन् । हामीले तीन अभ्यास खेल खेल्यौं । खेलाडीले सोचेको भन्दा राम्रो गरेका छन् । शीर्ष ६ मा रहनेमा हामी आशावादी छौं,’ गत लिगका अन्तिम खेलहरूमा ‘टच लाइन’ मा देखिएका अर्विन्द भन्छन् ।
स्रोत: एनके